हसिनाः डिभिजन वन कार्यालय मोरङले शनिबार हसिना सिमसारमा एक कार्यक्रम आयोजना गरी सुन्दरहरैंचा– ५ मा रहेको नमुना सामुदायिक वनलाई सालको पातको दुनाटपरी बनाउन मेसिन हस्तान्तरण गरेको छ ।
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत उत्सव थापाले नमुना सामुदायिक वनका अध्यक्ष घनश्याम न्यौपानेलाई सो मेसिन हस्तान्तरण गर्नुभएको हो । सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले मेसिन उपलब्ध गराईएको वन अधिकृत उत्सव थापाले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा– ५ का अध्यक्ष गणेश चौधरीले वडावासीलाई उद्यमी बनाउन सहयोग पुर्याउने हेतुले दुना टपरी बनाउने मेसिन उपलब्ध गराएको भन्दै डिभिजन वन कार्यालयलाई धन्यवाद दिनुभयो । अध्यक्ष चौधरीले प्लास्टिकका भाडाहरू विस्थापित गर्न सहयोग पुग्ने आशा वडाले गरेको बताउनुभयो ।
हसिना सिमसार क्षेत्र तथा नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाउने तालिम दिई स्वरोजगार बनाउनको लागि मेसिन उपयोगी रहेको बताउनुभयो ।







