इटहरीः सुनसरीको इटहरीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनको समापन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले ज्योतिष र नेताको वाणी पूरा भएमात्रै सबैले विश्वास गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता कार्कीले बोलेको कुरा व्यवहारमा नउतार्दा वर्तमान राजनीतिक नेतृत्व आलोचनाको पात्र बन्नु परेको धारणा राख्नुभयो ।
‘जसरी नेताले बोलेको कुरा पूरा गर्नुपर्छ, त्यसरी नै ज्योतिषको भविष्यवाणी पनि सत्य ठहरिनुपर्छ,’ नेता कार्कीको भनाइ थियो, ‘नत्र जनताको विश्वास गुम्छ ।’
ज्योतिष विज्ञानप्रति विश्वास व्यक्त गर्दै नेपालले यसको अध्ययन तथा नेतृत्व गर्न थालेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । शासन गर्न सीमाले छेके पनि ज्ञान र विज्ञानको कुनै सीमा नहुने बताउँदै उहाँले ज्योतिषजस्तो गहिरो विषयको विद्वता कुनै सिमानाले रोक्न नसक्ने बताउनुभयो । ज्योतिष विद्याको महत्व फैलाउँदै लानुपर्ने उहाँको धारणा थियो ।
ज्योतिष विज्ञानलाई गहन अध्ययनको विषय बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नेपालले विश्वका वैज्ञानिकलाई नेपाल ल्याएर ज्योतिषशास्त्रको अध्ययन गराउन सक्ने क्षमता रहेको उल्लेख गर्नुभयो । ज्योतिषीय भविष्यवाणी शब्दमा मात्र होइन, चित्रमा पनि देखाउन सकिने प्रविधि विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
सम्मेलनमा भारतको सिक्किम राज्यका पूर्वमन्त्री जीएम गुरुङले सिक्किम र नेपालबीच जैविक विविधता तथा सांस्कृतिक समानता रहेको बताउनुभयो । उहाँले पौराणिक पात्र हनुमानले सञ्जीवनी बुटी भेटेको पहाड सिक्किम नै हुन सक्ने सम्भावना रहेको दाबी गर्दै त्यस्तो जैविक विविधता आज पनि सिक्किममा पाइने जनाउनुभयो ।
समापन समारोहमा सो सम्मेलन सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सम्मेलन यही जेठ १० गतेदेखि धनकुटाको भेडेटारमा शुरु भई हिजो सुनसरीको इटहरीमा समापन भएको हो ।







