सुन्दरहरैंचाः अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन् । मंसिर महिनामा ९.९१ प्रतिशत रहेको २० बैंकहरुको औसत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८.९९ प्रतिशतमा झरेको छ ।
२० मध्ये १८ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर, पुसमा २ प्रतिशत घटेर ८.६०३ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशत ब्याजदर घटाएका छन् ।
प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् ।
विकास बैंकहरुले पनि पुस महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरुले पुस महिनाको लागि अधिकतम ब्याजदर ९.२५ प्रतिशत निर्धारण गरेका छन् । मंसिर महिनामा अधिकांश विकास बैंकहरुले अधिकतम ब्याजदर ९.४० प्रतिशत निर्धारण गरेका थिए ।