बेलबारीः प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङका विभिन्न दलका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् ।
गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा सारिएको थियो ।
सो प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आईतवार काठमाडौं पुगेका मोरङका राजनीतिक दलका नेता संगै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू पनि प्रधानमन्त्री समक्ष पुगेका थिए । बेलबारीका मेयर दिलप्रसाद राई, उपमेयर नितु थापा कोईराला, राष्ट्रिय सभा सदस्य विनाद पोख्रेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई काठमाडौं गएका हुन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले, तिलकप्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी, माओवादी नेता लता न्यौपानेलगायतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमै स्थापित गराउन माग गरेका छन् ।