विराटचोकः क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणले किन्न मिल्ने गरी १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निस्कासन गरेको हो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँड भइसकेको छ । कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बिक्री भइसकेको छ ।
आजदेखि दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला भएको हो । सो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि खरीद आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन २६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने र सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।







