विराटचोकः फागुन १५ गतेदेखि उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सवमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पदाधिकारीले सामान खरीद गर्नुभएको छ ।
‘विराटचोकमा भएको सुन्दरहरैंचा विराट एक्स्पोमा लामो समय स्टल अवलोकन गर्ने फुर्सद हुँदैनथ्यो’, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले भन्नुभयो, ‘विराटचोकमा लगाइएको एक्स्पोमा किन्न छुटेका र कम किनिएका सामान उर्लाबारी महोत्सवमा खरीद गरेका हौँ ।’
सुन्दरहरैंचाबाट गएका उद्योगी, व्यवसायीले किबी, किबी प्रशोधन गरेर उत्पादित सामान, कोदोको बिस्कुट, फापरको चिउरा, बदाम, सखरका साथै विभिन्न अर्गानिक खाद्यसामग्री तथा जुत्ता खरीद गर्नुभएको थियो । टोलीले रोटे पिङ पनि खेलेको थियो ।
छिमेकी संघबाट उपस्थित भएर सामान पनि खरीद गर्दा आयोजकलाई थप हौसल मिलेको उर्लाबारी, कृषि, औद्योगिक तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक भरत भट्टराईले बताउनुभयो ।
हिजो साँझ सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सुन्दरहरैंचाका सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सवको अवलोकन गरेको थियो ।







