विराटचोकः पछिल्ला ५ कारोबार दिनदेखि लगातार शेयर बजार सूचक नेप्से बढिरहेको छ । यसै क्रममा आज नेप्से परिसूचक ३.३५ अंक बढेर २७५८.७५ बिन्दुमा रोकिएको छ ।
हिजो ११ अर्ब ५४ करोडको शेयर किनबेच भएको शेयर बजारमा आज भने ३१० कम्पनीको १ लाख ३ हजार २६२ पटकको कारोबारमा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच भएको छ ।
निरन्तर ११ औँ दिन १० प्रतिशतले मूल्य बढेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आज पनि १० प्रतिशतले मूल्य बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशत घटेको छ ।
हिमालयन रिइन्स्योरेन्सको आज सबैभन्दा बढी ८९ करोड ३५ लाख ३८ हजार ९५ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, घलेम्दी हाइड्रो र सिइडीबी होल्डिङ्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बैंकिङ, अन्य, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको मात्रै परिसूचक बढेको बजारमा वित्त उपसमूहको परिसूचक सर्वाधिक घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ७९ अर्ब ७३ करोड ७३ लाख ६ हजार ५६० रुपैयाँ कायम भएको छ ।







