गोठगाउँः मोरङको सुन्दरहरैंचामा क्रियाशील सामाजिक मिलन केन्द्र प्रतिष्ठानले सुन्दरहरैंचा २ निवासी आगलागीपीडित दीपबहादुर खुलालको घरमा पुगेर खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको छ ।
हिजो बिहान १ बजे भएको आगलागीमा परेर खुलाल परिवार बस्दै आएको टिनले छाएको एक तले घर पूर्ण रुपमा जलेको थियो । रातको समयमा आगलागी भएकाले जीउमा लगाएका कपडाबाहेक केही पनि बचाउन नसकिएको छिमेकीले जनाएका छन् । आगलागीमा परेर ४ ओटा बाख्रा तथा खसी पनि मरेका थिए ।
आज बिहान प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद पोखरेलको नेतृत्वमा कार्यसमिति सदस्य, सल्लाहकार तथा आजीवन सदस्यसहितको टोली गएर पीडित परिवारलाई भेटेको थियो । सो क्रममा प्रतिष्ठानले पीडित परिवारलाई सिरक, डसना, कम्बल, सिरानी, तन्नाका साथै चामल, चिउरा, आलु, दाल, बेसार, नुनलगायतका सामग्री प्रदान गरेको थियो ।
समाजमा पर्ने यस्ता पीडामा थोरै भए पनि मलम पट्टी लगाउन तथा सकेको सहयोग गर्न प्रतिष्ठान सधैँ तत्पर रहने हुनाले सोहीअनुसार राहत सामग्री प्रदान गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।








