सलकपुरः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) मोरङले यही माघ १६ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने बताइएको छ ।
सुन्दरहरैँचा–८ सलकपुरस्थित दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टग्राममा विभिन्न प्रतियोगिता गरी विद्यार्थी प्रतिभा पहिचान गरी पुरस्कृत गरिने आयोजकले जनाएको हो । एनप्याब्सन मोरङ अध्यक्ष नारायण ढकालका अनुसार कार्यक्रममा लोक नृत्य, चित्रकला, हस्तलेखन र विज्ञान प्रदर्शनी प्रतियोगिता हुनेछन् । एन प्याब्सन मोरङमा आबद्ध ११५ विद्यालयमध्ये ५० भन्दा बढी विद्यालयले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।
एन प्याब्सन कोशी प्रदेश सहसचिव कमल खनालले यसलाई प्रदेशकै उत्कृष्ट कार्यक्रमका रूपमा हुने अपेक्षा राखिएको बताउनुभयो ।
कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र नेतृत्व विकासमा सहयोग पुग्ने आयोजकको दाबी छ । कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य गीता राणाले गर्नुहुने भएको छ ।







