दमकः मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण कार्य सम्पन्न हुँदा संघीय सरकारको ७ अर्ब ९० करोड रुपैयाँ खर्च भएको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार सो राजमार्गको ९५ दशमलव ८ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६\७७ देखि शुरु भएको हो । हालसम्ममा सडकतर्फ ७ वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसतमा ८० प्रतिशत भौतिक प्रगति भएको छ । दत्तका अनुसार विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा १० अर्ब १३ करोड रुपैयाँ बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
पूर्वी खण्डले झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई छुन्छ । हालसम्म झापामा १ दशमलव ९२ किमी, मोरङमा २० दशमलव ६५ किमी, इलाममा २ दशमलव ३ किमी र सुनसरीमा ५ दशमलव ८१ किमी सडक कालोपत्र भएको छ । सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकामा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ ।
सो सडक निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा ९१ करोड बजेट विनियोजन गरेको छ । झापादेखि डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्गको लम्बाइ १ हजार २०० किलोमिटर छ ।







