काठमाडौंः खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी शुरु गरेको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने व्यवस्था भएअनुरुप राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ ।
७ सदस्यीय कार्यदलको सदस्यहरुमा राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सह–महासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहेका छन् । प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन् ।
खेल संघलाई क्रियाशील बनाई खेलकुद गतिविधिहरुको कार्यान्वयनमा प्रभावकारिता ल्याउन बुधबार कार्यदल गठन गर्ने निर्णय गरिएको थियो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिन भित्र राखेपका सदस्य–सचिव टंकलाल घिसिङसमक्ष प्रतिवेदन पेश गर्ने भएको छ ।