विराटचोकः हिजोदेखि वर्षा कम भए पनि देशका केही नदीहरुको जलसतह अझै पनि खतराको सतहभन्दा माथि रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार बिहान धनकुटाको सिम्लेमा अरूण नदीको जलसतह अझै खतराको तहमाथि छ । धनकुटाको त्रिवेणीमा तमोर नदीले खतराको तह पार गरेको छ ।
त्यस्तै भोजपुरको हम्पाचौरमा सुनकोशी नदीले, सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीले, काठमाडौंको बालकुमारीमा मनोहरा खोलाले र ललितपुरको खोकनामा बागमती नदीले खतराको तह पार गरेका छन् ।
मकवनापुरको भोर्लेनीमा बागमती नदी र सिन्धुपाल्चोकको दोलालघाटमा सुनकोशी नदीको जलसतह सतर्कता तहभन्दा माथि रहेको महाशाखाले जनाएको छ ।