विराटनगरः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा बिहीबारदेखि कृषि एक्स्पो शुरु भएको छ । सो एक्स्पो आइतबारसम्म चल्नेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गर्नुभएको छ ।
कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् । जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्रीको बिक्री र प्रदर्शनी भइरहेको छ ।
नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागी भई कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्ने भएका छन् ।