विराटचोकः आज राष्ट्रिय बाल दिवस । विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाइँदैछ । यहाँ बालबालिकाको लागि संवैधानिक रुपमा रहेका हकहरूको उल्लेख गर्न लागिएको छ । नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिएको छ । यी हुन् संविधानप्रदत्त मौलिक हकहरूः
१. प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्म दर्ताको हक छ ।
२. प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्याहारसुसार खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक छ ।
३. प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक छ ।
४. कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जेखिमपूर्ण काममा लगाउन पाइने छैन ।
५. कुनै पनि बालबालिकालाई बाल विवाह गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
६. कुनै पनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।
७. कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
८. प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
९. जोखिम मा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।
१०. कानुनविपरीत बालबालिकालाई कलकारखाना, खानी, अन्य जोखिमपूर्ण काममा लगाउने बाल विवाह गैरकाुननी असोरपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुर्व्यवहार उपेक्षा, शारीरिक मानसिक यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा कानुन बमोजिम दण्डनीय, सजाय वा क्षतिपूर्ति हुनेछ ।