विराटचोकः आज २१ औं निजामती सेवा दिवस मनाइँदै छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निजामती सेवा दिवसको अवसरमा १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
सर्वाेत्कृष्ट कर्मचारी भने सरकारले यस वर्ष पनि पाएको छैन । विगत ८ वर्षदेखि सर्वाेत्कृष्ट कर्मचारीको पुरस्कार कर्मचारीलाई दिइएको छैन ।
२०६१ सालदेखि दिवस मनाउन थालिएयता वितरण भएका सर्वोत्कृष्ट पुरस्कार पाएकहरु पछि विवादमा तानिएका थिए । २१ वर्षमा ४ जना कर्मचारीले मात्र सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् । २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।
सरकारले निजामती सेवा दिवसको अवसरमा रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।