गोठगाउँः संस्था स्थापनाकालदेखि नै हरेक वर्षको तीजमा सांस्कृतिक कार्यक्रम गरिरहेको लालीगुराँस भजकीर्तन समूहले शुक्रबार तीजको अवसर पारेर विविध कार्यक्रम गरेको छ ।
संस्थाकी अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह मगर प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ का अध्यक्ष बिसनलाल चौधरी, कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नागेश पोखरेल, पञ्चायत माविका प्रधानाध्यापक खगेन्द्र रायमाझी, विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै हजार जनाभन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो ।
४ घण्टाभन्दा बढी सञ्चालन भएको कार्यक्रममा एक हजारभन्दा धेरै व्रतालु महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित महिलाले तीजको विषय समेटिएका नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए । आयोजक संस्थाले हरेक वर्ष झैँ यस वर्ष पनि नाटक प्रस्तुत गरेको थियो । सो नाटकलाई दर्शकले खुब मन पराएका थिए । वैदेशिक रोजगारमा गएका छोराले बुबाआमालाई नहेरेपछि छोरीले हेरविचार र औषधोपचार गरेको विषयमा आधारित भएको नाटकलाई दर्शकले रुचाएका थिए ।