विराटचोकः भाद्र शुक्ल चतुर्थी अर्थात् आज गणेश चतुर्थी पर्वको दिन हो । भगवान् गणेशको जन्मदिनको रूपमा आजलाई लिइन्छ ।
शिव र पार्वतीका पुत्र गणेशलाई विघ्ननाशक देवताका रूपमा पुजिन्छ । सनातन धर्मावलम्बीका सबै मांगलिक कार्यको सुरुआतमा गणेशको पूजा गर्ने परम्परा छ ।
सबै देवताका प्रिय, भक्तजनको थोरै प्रयासमा खुशी हुने र सिद्धि दिने देवताका रूपमा पनि उनको प्रसिद्धि छ । लड्डु र दुवो रुचाउने गणेशलाई सिन्दुर, रक्तचन्दन, रातो फूल र रातो वस्त्र आदि चढाएर पूजा आराधना गरिन्छ ।
गणेश चतुर्थीका अवसरमा काठमाडौं उपत्यकाका चार विनायक सूर्य विनायक, चन्द्र विनायक, मरु विनायक र अशोक विनायकका साथै कमल विनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ ।
गणेशकै श्राप परेको हुँदा आज चन्द्रमाको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ ।