विराटचोकः बुधबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अंकले घटेर २ हजार ७३९.४६ विन्दुमा अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा अडिएको छ ।
३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर १ लाख ३७ हजार १६३ पटक किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आउँदा वित्त समूह सर्वाधिक ५ दशमलव १५ प्रतिशतले घटेको छ । बुधबार नेपाल फाइनान्सको सर्वाधिक ३० करोड ५२ लाख ६१ हजार ३११ रुपैयाँको शेयर कारोबार भएको छ । एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार घटे पनि एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इष्टर्न हाईड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको हो । गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ५० अर्ब ८३ करोड २८ लाख ९१ हजार ५६८ रुपैयाँ निर्धारण भएको छ ।