विराटचोकः आज दर खाने दिन हो । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दू महिलाहरु रातमा दर खाने गर्छन् ।
माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।
आज शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
दर खाने समय ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिले अन्य खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
सत्य युगमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।