विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले नगर क्षेत्रका सौन्दर्य व्यवसायी अर्थात् सैलुन व्यवसायी र ब्युटीपार्लर व्यवसायीसँग आज अन्तरक्रिया गरेको छ ।
विशेष गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर अन्तरक्रिया गरिएको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । सैलुन व्यवसायीले प्रयोग गर्ने औजारहरुको निर्मलीकरण, व्यक्तिगत सरसफाइ तथा व्यवसाय गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डको बारेमा व्यवसायीलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।
अन्तरक्रियामा सहभागी व्यवसायीलाई सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत डा. सन्दीप पोखरेलले सहजीकरण गर्नुभएको थियो । प्रत्येक ग्राहकको कपाल वा दारी काटेपछि कुहिनादेखि औँलासम्म साबुनपानीले हात धुन, प्रत्येक व्यक्तिको कपाल वा दारी काटिसकेपछि काइँयो र ब्लेड लगाइने औजारलाई निर्मलीकरण गर्न उहाँले सुझाव दिनुभयो । दारी काट्दा फिट्किरीको सट्टा अन्य मलम प्रयोग गर्न, व्यवसायी आफूले पनि एप्रोनको प्रयोग गर्न उहाँले सचेत गराउनुभएको थियो । स्वास्थ्य मापदण्ड नअपनाउँदा त्यसको पहिलो असर आफैँलाई पर्ने हुनाले संवेदनशील भएर व्यवसाय गर्नुपर्ने उहाँको सुझाव थियो ।
अन्तरक्रियामा उपस्थित व्यवसायीले सानो सटरमा हात धुने बेसिन राख्न समस्या हुने, फिटकिरीको प्रयोग नै सहज लागेकाले सोही प्रयोग गर्ने गरिएको, प्रत्येक ग्राहकको दारी वा कपाल काटिसकेपछि होइन बेलाबेलामा हातमुख धुने गरिएको बताउनुभएको थियो ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले व्यवसायीलाई नगरपालिकामा र संघमा दर्ता हुन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा जीवनभर नाइ पेशामा आबद्ध ८४ वर्षीय विश्वप्रसाद ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल नाइ संघ मोरङका अध्यक्ष विनोद ठाकुर, सुन्दरहरैंचा अध्यक्ष बासुदेव ठाकुरको पनि उपस्थिति थियो । नगरका ४० जना सौन्दर्य व्यवसायीको कार्यक्रममा उपस्थिति रहेको थियो ।