गोठगाउँः कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा सामाजिक मिलन केन्द्रले ८० वर्षमाथिका २१ जना ज्येष्ठ पुरुषलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
शनिबार केन्द्रको कार्यालय गोठगाउँमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाललगायत उपस्थित अन्य अतिथिले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
केन्द्रले इन्द्रबहादुर दाहाल, रामप्रसाद मिश्र, पदमबहादुर दाहाल, भीमबहादुर राया, नारायणप्रसाद ढकाल, जयप्रसाद दाहाल, तेजप्रसाद सिटौला, मेदिनीप्रसाद कार्की, इन्द्रप्रसाद खरेल, रुद्रप्रसाद अधिकारी, उद्धवप्रसाद नेपाल, लोकबहादुर क्षेत्री, देवीप्रसाद पोखरेल, बद्रीप्रसाद दाहाल, अग्निधर खतिवडा, सूर्यप्रसाद दाहाल, गोपालकुमार कटुवाल, भीमलाल भट्टराई, सूर्यप्रसाद ढकाल, खगेश्वर भट्टराई र सूर्यप्रसाद बास्तोलालाई सम्मान गरेको हो ।
सम्मानित व्यक्तिहरुलाई बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा सुन्दरहरैंचा ७ निवासी कुमार फुँयल र निर्मला फँुयलले टोपी प्रदान गर्नुभएको थियो ।
तीजको अवसर पनि जोडिएर कार्यक्रम भएको हुनाले कार्यक्रममा उपस्थितहरुलाई दर खुवाउने कार्यक्रम पनि भएको थियो ।
कार्यक्रममा केन्द्रका साधारण तथा आजीवन सदस्यका साथै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
केन्द्रका अध्यक्ष गंगाराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानीय सुरज बिष्टले गर्नुभएको थियो । केन्द्रका सदस्य दाताराम भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।