काठमाडौंः औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रप्रवर्द्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रतिष्ठानले मंगलबार सूचना सार्वजनिक गरेर परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँंगै कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो ।
स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिनभित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्ने प्रतिष्ठानले आह्वान गरेको छ । प्रस्ताव विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिको कार्यान्वयन गर्नेछ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत १ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न गराउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरेको हो । छनोट भएका उद्यमीहरुले ३ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।
स्टार्टअप उद्यमको मापदण्ड पूरा गरेका, तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्ताव पेस गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।