बेलगाछीः सुन्दरहरैंचा ७ बेलगाछी, मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा केराबारीमा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिकाहरु हिजो बेलुकादेखि सम्पर्कविहीन भएका थिए । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ । घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।