विराटचोकः सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले नेपालका सामुदायिक विद्यालयको गुणस्तरमा कमी नभएको बताएका छन् ।
‘नेपालबाट गएका विद्यार्थीले युएसमा विभिन्न विश्वविद्यालयमा टप गरेका समाचार सुनिन्छ’, क्याम्पसको १७ औँ परिषद् बैठकलाई सम्बोधन गर्दै अधिकारीले भने, ‘ती विद्यार्थीलाई नेपालमै रोक्न किन सकिएन ? किन उनीहरुको लागि अनुकूल वातावरण हुन सकेन ?’
सामुदायिक क्याम्पसले स्थानीय मागअनुसारको शिक्षा दिन सकेनन् भने ती क्याम्पसको शाख गिर्नुका साथै क्याम्पस नै बन्द हुने अवस्था आउने उनको भनाइ थियो ।
यो नियमले मिल्दैन र त्यो नियमले मिल्दैन मात्रै भनिन्छ, मिल्ने नियम कहिले बन्छ ? विद्यार्थी विदेश गए मात्रै भनिन्छ, किन गए भनेर खोजी गर्ने काम पनि हुनुपर्ने उनले औँल्याए ।
कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीतर्फ इङ्गित गर्दै उनले भने, ‘कुनै एक विषयमा फेल हुँदैमा माथिल्लो तह अध्ययन गर्न नपाउने अहिलेको नियममा पनि पुनर्विचार गर्न आवश्यक छ ।’







