धरानः आज साँझ परेको वर्षापछि सडकको किनारमा रहेको ड्रेनको बाढीले बगाउँदा धरानमा १४ वर्षीय विद्यार्थीको मृत्यु भएको छ ।
धरान ११ मंगलबारेस्थित ऐश्वर्य मार्गको ड्रेनको भेल बाढीले बगाउँदा रोशन लिम्बूको मृत्यु भएको हो । भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी विद्यालयपछि कोचिङ पढेर साथीसँग घर फर्कँदै थिए । अरु २ जना साथी बाढी देखेर सो सडकमा नपसे पनि उनी सडक पार गर्ने क्रममा डे«नमा परेपछि बाढीले बगाएको थियो ।
उनको शव धरान–१७ स्थित फोक्लेन टापुको ठकुरी खोला पुलबाट एक सय मिटर उत्तरतर्फ फेला परेको छ ।
त्यसैगरी खहरे खोलामा आएको बाढी चतरा लाइनबाट पसेर सडकमा बग्दा १ घण्टा सवारी आवतजावत बन्द भएको थियो । बाढीले सडक छेउमा रोकिएका केही मोटरसाइकल लडाएको थियो ।