लक्ष्मीमार्गः बेलबारीमा असोज ११ गतेदेखि सातौँ संस्करणको एलएक्स सिटी गोल्डकप सञ्चालन हुने भएको छ । डाँगीहाट फुटबल क्लबको नाम परिवर्तन भएर एलएक्स फुटबल क्लब भएसँगै सो क्लबले आयोजना गर्ने सो प्रतियोगिताको नाम पनि यस पटक परिवर्तन हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन बिहीबार गरिएको पहिलो चरणको पत्रकार सम्मेलनमा जनाइएअनुसार यसपटक प्रतियोगितामा थप २ टिम सहभागी भएर सहभागी हुने टिमको सङ्ख्या १० पुग्नेछ ।
लक्ष्मी माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न विधामा दिइने पुरस्कार राशी भने निर्णय हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक आरजु राइस मिल रहेको छ । सह प्रायोजकमा टुबोर्ग बियर, वाइवाइ चाउचाउ, कोकोकोला, एरी ब्राण्ड, लाहुरे ट्रेनिङ सेन्टरलगायत अन्य कम्पनी र संस्था रहेका छन् । बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आयोजकले ७० लाख रुपैयाँ आम्दानी हुने र ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताएको छ । शिवप्रसाद राईको संयोजकत्वमा आर्थिक समिति र ४ सदस्यीय खेल व्यवस्थापन समिति निर्माण गरी काम भइरहेको आयोजकले जनाएको छ ।
भिडियोः
https://www.facebook.com/61554706120006/videos/845887204322536