विराटचोकः शेयर बजार परिसूचक मापक नेप्से मङ्गलबार ३ दशमलव ८६ प्रतिशत अर्थात् १११ दशमलव ९६ अंकले झर्दा २ हजार ७८२ दशमलव ६० अंकमा रोकिएको छ ।
३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँको कारोबार भएको छ । होटल समूह मात्रै ० दशमलव ४३ प्रतिशतले बढ्दा बाँकी १२ समूहको सूचकमा रातो पोतिएको छ ।
मङ्गलबार बैंकिङ समूह सर्वाधिक ४ दशमलव ९२ प्रतिशतले झर्दा वित्त समूह ४ दशमलव ६९ प्रतिशत र विकास बैंक समूह ४ दशमलव १८ प्रतिशतले झरेका छन् ।
मङ्गलबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ६५ करोड ४२ लाख ९ हजार ५८२ रुपैयाँको शेयर किनबेच भएको छ । अपि पावरको ५१ करोड ७५ लाख, अरुण भ्याली हाईड्रोपावरको ४५ करोड ६३ लाख, नेपाल फाइनान्सको ४१ करोड ५५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार घटे पनि आज तारागाँउ रिजेन्सी होटल, आरम्भ चौतारी लघुवित्त र दोल्ती पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घट्दा रिडी पावरको शेयरमूल्य ८ दशमलव ५८ प्रतिशत, नेशनल हाईड्रोको शेयरमूल्य ७ दशमलव ६७ र शिवश्री हाईड्रोको शेयरमूल्य ७ दशमलव ४८ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब ३५ करोड ६२ लाख ९ हजार ४४३ रुपैयाँ कायम भएको छ ।