विराटचोकः ९३ वर्ष अघिदेखि विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ । रथयात्रा आज दिउँसो ३ बजे निकालिनेछ ।
विराटनगर महानगरपालिका– १ स्थित राधाकृष्ण मन्दिरबाट विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्रा २०२५ सालमा रथयात्रामा परिणत भएको थियो । यो रथयात्रालाई दक्षिण एशियाको दोस्रो ठूलो रथयात्रा रहेको दाबी गरिन्छ । भारतको जगन्नाथपुरीको रथयात्रालाई विश्वकै ठूलो रथयात्रा मानिन्छ । रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै ९ किलोमिटर यात्रा गर्दै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।