खेमचन्द्र अधिकारी
विराटचोकः साधारणतः कुनै पनि कम्पनीको संस्थापक शेयरको मूल्य त्यति धेरै घटबढ हुँदैन । कुनै कम्पनीको संस्थापक शेयर लामो समयसम्म किनबेच नै हुँदैन र किनबेच हुँदा पनि थोरै मूल्य तलमाथि भएर थोरै कित्ता मात्रै किनबेच हुने गरेको पाइन्छ । संस्थापक शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने हुँदा पनि बजारमा क्रेता र बिक्रेता दुवैको उपस्थिति नदेखिएको हो ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआइडीसीएल) को संस्थापक शेयर सर्वसाधारणले पनि किनबेच गर्न पाउँछन् । त्यसैले यसको शेयर साधारण शेयरसरह दिनहुँ किनबेच हुन्छ । २ महिनाको अवधिमा सो कम्पनीको शेयरमूल्य साधारण शेयरको भन्दा बढी बढेको छ । कारोबार पनि उल्लेख्य मात्रामा हुने गरेको छ । जेठ ३१ को मूल्य र साउन ३१ को मूल्य तुलना गर्दा २ महिनामा संस्थापक शेयरको मूल्य शतप्रतिशतले बढेको छ ।
गत जेठ ३१ गते शेयर बजार शून्य दशमलव एचआइडीसीएलको साधारण शेयरको मूल्य प्रति कित्ता १६४ रुपैयाँ र संस्थापक शेयरको मूल्य ९९ रुपैयाँ १० पैसा थियो । सो दिन नेप्से सूचक ० दशमलव ४३ प्रतिशत घटेर २११२.२९ बिन्दुमा अडिँदा विकास बैंक र फाइनान्सबाहेक सबै समूह राताम्य भएका थिए । सो कम्पनीको साधारण शेयर १ रुपैयाँ र संस्थापक शेयर २० पैसा घटेका थिए । साधारण शेयरको सो दिनको न्यूनतम मूल्य १६३ रुपैयाँ ५० पैसा प्रतिकित्ता र अधिकतम मूल्य १६५ रुपैयाँ ९० पैसा रहेको थियो । संस्थापक शेयरको अधिकतम मूल्य ९९ रुपैयाँ ३० पैसा र न्यूनतम मूल्य ९८ रुपैयाँ ९० पैसा रहेको थियो । साधारण शेयर ५४ हजार ९६९ कित्ता र संस्थापक शेयर ३० हजार ३७५ कित्ता कारोबार भएको थियो ।
एक महिनापछि असार ३१ मा सो कम्पनीको साधारण शेयर १७९ दशमलव ९० पैसा र संस्थापक शेयर १०३ रुपैयाँ प्रति कित्तामा कारोबार भएको दिन नेप्से सूचक अघिल्लो दिनको तुलनामा ० दशमलव ७६ प्रतिशतले घटेर २२४०.४१ बिन्दुमा रोकिएको थियो । सो दिन साधारणतर्फको शेयर २ लाख १ हजार ५८० कित्ता र संस्थापकतर्फको शेयर ५७ हजार ४४० कित्ता बिक्री भएको थियो । साधारण शेयर अघिल्लो दिनको तुलनामा २ रुपैयाँ ९० पैसा बढेको थियो भने संस्थापकतर्फको शेयर अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको थियो ।
साउन ३१ मा साधारण शेयर ३४४ रुपैयाँ ५० पैसा र संस्थापक शेयर १९७ रुपैयाँमा कारोबार हुँदा नेप्से सूचक ३०००.८१ बिन्दुमा अडिएको थियो ।
यसरी २ महिनामा सो कम्पनीको शेयर ९९ रुपैयाँ १० पैसाबाट बढेर १९७ रुपैयाँ पुगेको छ ।