बेलबारीः हिजो मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको छावा (हात्तीको बच्चा) विद्युतीय धरापका कारण मरेको खुलेको छ । स्थानीय विनोद थापाको टिक रोपिएको जग्गामा अन्दाजी २–३ वर्षको पोथी छावा मृत फेला परेको थियो ।
बेलबारी नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय तेजबहादुर राईले न्याउरीमुसो मार्नका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको सब डिभिजन वन कार्यालय बेलबारीले जनाएको छ ।
कार्यालयका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार राईलाई प्रहरीले पक्राउ गरी कारवाहीका लागि वन कार्यालयमा बुझाएको छ । राईविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान शुरु गरेको बताइएको छ ।
राईको घरदेखि घटनास्थल लगभग २० मिटरको दुरीमा रहेको र न्याउरीले घरमा पालेका कुखुरा खाएका कारण न्याउरी मार्नका लागि पासो थापेको देखिएको अनुसन्धानमा खुलेको हो ।
यसअघि गत जेठ ३० मा मोरङको सुन्दरहरैंचा ६ मा एउटा छावा मृत अवस्थामा र पुस १६ गते सुन्दरहरैंचा १० मा गोली हानेर मारेको अवस्थामा वयस्क हात्ती मृत फेला परेका थिए ।