विराटचोकः आज शेयर बजार खुल्नासाथ नेप्सेले २९०० को बिन्दु तोडेको छ । हिजो नेप्सेले २८०० को बिन्दु तोडेपछि लगानीकर्ताको मनोबल बढेको अनुमान गरिएको छ ।
आज प्रि ओपनमै १५ अङ्क बढेको नेप्से बजार खुलेको २ मिनेट नबित्दै २९०० को बिन्दुभन्दा माथि पुगेको थियो । ११ बजेर ४ मिनेट जाँदा ६२ अङ्क बढेर २९२३ सम्म पुगेको नेप्से ११ बजेर ९ मिनेट जाँदा २९०० भन्दा तल अर्थात् २८९४ सम्म झरेको थियो । त्यसपछि सम्हालिएको बजार ११ बजेर १९ मिनेटमा पुनः २९२३ मा पुगे पनि त्यहाँ भन्दा माथि जान नसकी घट्न थालेको थियो ।
अहिले बिहान साढे ११ बजेको समयमा नेप्से सूचकमा ४८ अङ्कको वृद्धि भई नेप्से सूचक २९०८ बिन्दुमा पुगेको छ । आधा घण्टामा ४ अर्ब ६७ करोडको शेयर किनबेच हुँदा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ६६ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेण्ट, अपर तामाकोशी हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमाल दोलखा हाइड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
शुभम् पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र मैलुङ खोला हाइड्रोपावर उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।