विराटचोकः सोमबार पनि नेप्सेले २८०० को मनोवैज्ञानिक रेखालाई एक पटक नाघेको छ । अघिल्लो कार्य दिन बिहीबार पनि एक पटक २८०० को मनोवैज्ञानिक रेखालाई सूचकले नाघेर पनि बजार बन्द हुँदा भने २७५५ मा आएर अडिएको थियो । शुक्रबार, शनिबार र आइतबार शेयर बजार बन्द भएपछि हिजो सोमबार खुलेको थियो । हिजो पनि २८०० को सूचक पार गरेको नेप्से बजार बन्द हुँदा भने २७९६ मा अडिएको थियो ।
सोमबार नेप्से सूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेको छ । सोमबार २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर कारोबार भएको छ । ७ उपसमूहको सूचक बढ्दा होटल उपसमूहको सूचक सर्वाधिक ६ दशमलव ६९ प्रतिशतले बढेको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४ दशमलव ६१ प्रतिशतले घटेको छ ।
सोमबार रुरु जलविद्युत, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेलीबुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रो, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पी, सिटी होटल, माउण्टेन हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्दा हिमालयन लघुवित्तको ७ दशमलव ६२ प्रतिशत, गुह्येश्वरी फाइनान्सको ६ दशमलव २६ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६ दशमलव २५ प्रतिशत, समृद्धि फाइनान्सको ६ दशमलव १२ प्रतिशतले शेयरमूल्य घटेको छ ।
सोमबार हिमालयन रि इन्स्योरेन्सको मात्रै १ अर्ब २६ करोड ४ लाख ८८ हजार ७६२ रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेण्ट्स र माउण्टेन इनर्जी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ३८ अर्ब ७२ करोड २१ लाख २ हजार ४५८ रुपैयाँ कायम भएको छ ।