फाइल तस्बिरः
गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको शिव पाञ्चायन मन्दिरको दान पेटिका दिउँसै चोरी भएको छ । मन्दिरभन्दा केही मिटर पर खेतमा फुटाएको अवस्थामा दानपेटिका र केही भेटि फेला परेको छ ।
आज साउनको सोमबार भएको हुनाले बिहानैदेखि मन्दिरमा भक्तजनको भीड थियो । दिउँसो मन्दिरमा भक्तजनको आवतजावत हुन छोडेपछि पुजारी मन्दिर बाहिर गएको समयमा मन्दिरमा चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले बताउनुभयो ।
मन्दिरका पुजारी टुकराज भट्टराईले मन्दिर परिसरभित्र फेला परेका नोट र सिक्का दानपेटिकामा राख्न खोज्दा मात्रै दानपेटिका चोरी भएको थाहा भएको थियो ।
पुजारी भट्टराईले अध्यक्ष श्रेष्ठलाई दानपेटिका चोरीको बारेमा जानकारी गराएपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसहित भएर मन्दिर आसपास खोजी गर्ने क्रममा फुटाएको अवस्थामा केही भेटी रकमसहित दानपेटिका भेटिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । फुटाइएको सो दानपेटिकामा ५ हजार ९ सय रुपैयाँ नगद फेला परे पनि दान पेटिकामा कति रकम थियो र कति रकम चोरी भयो भन्ने अनुमान गर्न भने नसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
दिउँसै मन्दिरमा रहेको दानपेटिका चोरी हुनुले टोलमा सुरक्षा चुनौती बढ्दै गएको स्थानीय बताउँछन् ।
चोरी भएको दानपेटिकाको तस्बिर