विराटचोकः एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा कम नाफा गरेको छ । बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ९१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घट्न पुगेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ३९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३ दशमलव ८८ प्रतिशत घटेको छ । बैंकको खराब कर्जा ० दशमलव ११ प्रतिशतबाट बढेर १ दशमलव ७४ प्रतिशत पुगेको हुनाले बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ ।
बैकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७ दशमलव ८४ गुणा रहेको छ । १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित रहेको छ ।