मृगौलियाः सुन्दरहरैंचा नगरपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय मृगौलियामा लागूपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय हरैंचाको समन्वयमा आयोजित कार्यक्रममा प्रहरी नायब निरीक्षक अशोक कार्कीले सहजीकरण गर्नुभएको थियो ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागुपदार्थको प्रयोगले मानिसमा पर्ने असर, कानुनी अपराध र प्रयोगकर्तालाई हुने कानुनी सजायका बारेमा जानकारी दिइएको थियो ।
लागूपदार्थको प्रयोग रोक्न समाज र परिवारको भूमिका महत्वपूर्ण रहेको बताउँदै कार्कीले यसको बेचबिखन भएको अवस्थामा प्रहरीलाई सूचना दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा दिने र लागुपदार्थको कुलतबाट बच्न सहयोग पुग्ने बताएका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक तोयानाथ रेग्मीले यो कार्यक्रम अत्यन्त आवश्यक र उपयोगी रहेको बताउनुभयो ।
सुन्दरहरैंचाबाट सञ्चालित जनचर्चा टाइम्स र पूर्वी अनलाइनको संयुक्त प्रयासमा कार्यक्रम आयोजना गरिएको थियो ।