विराटचोकः नेपाली शेयर बजारको दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । आज ३३२ कम्पनीको २ लाख ३८ हजार २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको शेयर किनबेच भएको छ । आज ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भएका छन् ।
यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसपछि आज सबैभन्दा धेरै रुपैयाँको शेयर किनबेच भएको हो ।
आज नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स १०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२५ अंक बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ ।
आज १० कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको हो । थप ११ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
बजार बढे पनि आज आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५२ प्रतिशत घटेको छ । आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटेको विवरण सार्वजनिक गरेको थियो । जसको असर शेयरमूल्यमा पर्दा आज सो कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८४ करोड ४९ लाख ९४ हजार ३१७ रुपैयाँको शेयर किनबेच भएको छ । माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
सबै उपसमूहको परिसूचक बढ्दा वित्त उपसमूहको परिसूचक सर्वाधिक ८ दशमलव ०८ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक ६ दशमलव ८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
बजार बढेसँगै आज समग्र बजार पूँजीकरण ४३ खर्ब ८० अर्ब ७७ करोड ११ लाख ५९ हजार ८२२ रुपैयाँ कायम भएको छ ।