विराटचोकः आज विश्व बाघ दिवस हो । विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू भइरहेका छन् ।
हालैमात्र एक सर्भेक्षणले नेपाललाई विश्वको प्रमुख बाघ गन्तव्यको रुपमा चित्रित गरेको छ । लोन्ली प्लानेट नामको विश्वको चर्चित पर्यटन पोर्टलले यस्तो गन्तव्य सूची सार्वजनिक गरेको हो । हालै सार्वजनिक भएको सूची अनुसार नेपालको चितवन राष्ट्रिय निकुन्ज बाघ हेर्न पाइने विश्वको शीर्ष तीन गन्तव्यमा परेको छ ।
भारतको उत्तराखण्डको जिम कोर्बेट राष्ट्रिय निकुन्ज तथा बंगलादेशको सुन्दर वन क्षेत्र यस्तो सूचीको पहिलो र दोस्रो नम्बरमा रहेका छन् । यो सूचीकरणले नेपालको पर्यटनमा फाइदा पुग्ने विश्वास गरिएको छ ।
सन् २०२२ को गणना अनुसार नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । यसपछिका विभिन्न अध्ययन र अनुसन्धानले अहिले नेपालमा ४ सय भन्दा पनि बढी बाघ रहेको जनाएका छन् ।