काठमाडौंः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने विरुद्ध मुद्दा दायर गरेको छ ।
शेयरको भित्री कारोबार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले उनीविरुद्ध विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीमाथि विभिन्न भित्री सूचनाका आधारमा कम्पनीको शेयर खरिदबिक्री गरी गैरकानूनी लाभ लिएको आरोप छ । विभागले उनीमाथि १ करोड ९९ लाख रुपैयाँ विगो माग दावी पनि गरेको छ ।
विभागले गत कात्तिक २३ गते उनी विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । उनी २०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवद्र्धक र प्रमुख कार्यकारी अधिकृत थिए । विभागले न्यौपानेलाई इनसाईडर ट्रेडिङ गर्न सहजीकरण गरेको अभियोगमा रिडी पावरका सीईओ कुवेरमणी नेपाल विरुद्द पनि मुद्दा दायर गरेको छ ।
उनी अध्यक्ष रहकै बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेयर बजारमा भित्री कारोबारका विषयमा रकम जफत हुनुपर्ने माग राखेर मुद्दा चलाउन लागेको यो पहिलो घटना हो । कुनै पब्लिक कम्पनीको सञ्चालक समितिमा रहँदा वा समिति छाडेको एक वर्षभित्र आफू वा परिवारको सदस्यले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।
अवैध रुपमा शेयर कारोबार गरेको ठहर गर्दै धितोपत्र बोर्डले कारबाही गरेपछि उनले गत फागन ८ गते रिडी पावरको अध्यक्षबाट राजीनामा दिएका थिए । अनुसन्धानबाट भित्री कारोबार भएको भेटिएपछि धितोपत्र बोर्डले न्यौपानेलाई ७५ हजार रुपैयाँ जरिवाना गराएको थियो ।