Monday, December 23, 2024
Homeअर्थभेडेटारमा ‘स्काइवाक टावर’ सञ्चालनमा

भेडेटारमा ‘स्काइवाक टावर’ सञ्चालनमा

खेमचन्द्र अधिकारी
भेडेटारः धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा निर्माण सम्पन्न भएको ‘स्काइवाक टावर’ शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङ्पाङले सामूहिक रुपमा स्काइवाकको उद्घाटन गर्नुभएको हो । स्काइवाकमार्फत् उठेको रोयल्टी पनि साँगुरीगढी, धरान र कोशी प्रदेशले पाउने भएका छन् ।

विभिन्न प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको निर्माणकर्ता कम्पनी वन्डर्स अभ्युजमेन्ट पार्कस एण्ड अट्राक्सन्स प्रालिले जनाएको छ । काम थालेको १ वर्षमै सम्पन्न भए प्राविधिक र कानुनी झण्झटले शुरुका ३ वर्ष बितेको सो प्रालिले जनाएको छ । १३ करोड लगानीमा निर्माण भएको स्काइवाकको संरचनाको निर्माण चार वर्षअघि थालिएको थियो ।

परियोजनामा बन्जी जम्प र जीपलाइन पनि सञ्चालन गर्दा लगानी २० करोड पुग्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा बनेको स्काइवाकको लम्बाइ ४१ मिटर र चौडाइ २ मिटर रहेको छ । अन्तिम बिन्दुमा घुम्ने ठाउँमा १० मिटर लम्बाइ भएको बताइएको छ ।

स्काइ वाकसँगै १ सय मिटर अग्लो र ४ मिटर चौडाइ ४ भएको टावर पनि निर्माण भएको छ । सो टावर पनि केही दिनपछि सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

परियोजना उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ घिमिरे, वन तथा पर्यटन मन्त्री नारायण बुर्जा मगर लगायतका मन्त्रीहरू, धरानका नगर प्रमुख हर्क साम्पाङ लगायतको उपस्थिति थियो । सुनसरी र धनकुटाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुखलगायतको कार्यक्रममा उपस्थिति थियो ।

उद्घाटनको अवसरमा उपस्थित सबै व्यक्तिलाई स्काइवाकको निःशुल्क भ्रमण र अवलोकन गराइएको थियो । प्रति व्यक्ति ५०० रुपैयाँ लिइने स्काइवाक परियोजनाबाट उठेको रोयल्टीको ५५ प्रतिशत साँगुरीगढी गाउँपालिकाले, ४० प्रतिशत धरान उपमहानगरपालिकाले र ५ प्रतिशत कोशी प्रदेश सरकारले पाउने बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments