विराटचोकः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ९८ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ ।