बेलबारीः सोमबारदेखि बेलबारीको लक्ष्मीमार्गमा औद्योगिक तथा सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला संस्कृति तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको डाँगीहाट युथ क्लबले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा र व्यापार व्यवसयाको बिस्तारमा यस्ता महोत्सवको महत्त्वपूर्ण भूमिका रहने बताए ।
महोत्सव उद्घाटनमा देखाइएका विभिन्न जातिका झाँकी हेर्दै उनले विविध जाति र संस्कृतिको संगम नेपालको पहिचान भए पनि त्यसमाथि हमला हुन शुरु हुनु दुःखद भएको बताए ।
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले पनि जातीय सद्भाव कायम राख्नुपर्नेमा जोड दिइन् । महोत्सवमा प्रदर्शनीतर्फ १५ वटा र खानपानतर्फ १० वटा स्टल रहेका छन् ।
महोत्सव उद्घाटनमा बेलबारीका अधिकांश राजनीतिक दलका प्रतिनिधि, प्याब्सन, एन प्याब्सनलगायतका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।







