काठमाडौंः अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा महेश बराललाई नियुक्त गर्नुभएको छ । अर्थमन्त्री पौडेलले बराललाई पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराउनुभएको छ ।
पदबहालीपछि बोर्डले आफ्नो वेबसाइटमा यस्तो लेखेको छः
नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा मनोनयन हुनुभएको सहसचिव श्री महेश बरालज्यूले माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बोर्डको अध्यक्ष पदको शपथ लिई मिति २०८१\०४\०३ मा बोर्डमा पदबहाली गर्नुभएको छ ।
नेपाल सरकार अर्थमन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१\०४\०२ को निर्णयानुसार सहसचिव बराल बोर्डको सञ्ंचालक सदस्यमा मनोनयन हुनु भएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्थाबमोजिम उहाँ अध्यक्ष तोकिनुभएको हो ।
उहाँ बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत हुनुहुन्छ ।
बोर्ड अध्यक्ष श्री बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उहाँको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गर्नुभयो । बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत सङ्गठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिनुभयो ।