काठमाडौंः व्यावसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउन विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सिफारिश गरेको छ ।
समितिले दिएको प्रतिवेदनअनुसार शेयर कारोबारबाट गरेको नाफालाई पनि वार्षिक आम्दानीको रुपमा गणना गरी अन्य व्यवसायसरह आयकरको व्यवस्था गर्नुपर्ने हुन्छ । पेश गरिएको सुझाव अनुसार शेयर लगानीकर्ताले हालको दरअनुसार ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ । वर्तमानको आयकरको व्यवस्थाअनुसार वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्दा ३९ प्रतिशत करको व्यवस्था रहेको छ ।
हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव पेश गरेको छ । समितिले १ वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई १० प्रतिशत पूँजीगत लाभकर र १ वर्षभन्दा पछि बेच्नेलाई साढे ७ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गर्न सुझाव दिएको छ ।
हाल पूँजीगत लाभकर क्रमशः साढे सात र ५ प्रतिशत रहेको छ ।