विराटचोकः पूर्व पश्चिम राजमार्ग बिस्तारका क्रममा आफ्नो घरटहरो भत्काउनुपर्ने भएपछि स्थानान्तरणका लागि आर्थिक अभाव भएको भन्दै सुन्दरहरैंचा ९ की मञ्जु मल्लिक सहयोगको याचना गरिरहनुभएको छ ।
कृषि विकास बैंकअगाडि टहरो बनाएर बसिरहेकी उहाँको मात्रै होइन विजय मल्लिक र मुना मल्लिकको घर पनि मञ्जुको सँगै छ । तीन वटै घर स्थानान्तरणका लागि आर्थिक समस्या रहेको हुनाले सहयोगको अपेक्षा गरेको मञ्जुको भनाइ छ ।
मञ्जुका अनुसार तीन दशकअघिदेखि बसिरहेको ठाउँ बाटो बिस्तारका क्रममा परेको हुनाले भत्काउनुपर्ने भएको हो । टहरापछाडि रहेको कृषि विकास बैंकले पनि भवन हटाउन अनुरोध गरिरहेको मल्लिक परिवारको भनाइ छ । लामो समय भाडाको घरबाट कार्यालय सञ्चालन गरेको कृषि विकास बैंकले हालै आफ्नै भवनबाट सेवा दिन शुरु गरेको छ ।
मल्लिक परिवारको कमजोर आर्थिक अवस्था देखेर सुन्दरहरैंचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले आज २० हजार ५२० रुपैयाँ सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका नेता मञ्जुकुमारी फुयाल रेग्मीले ५ हजार रुपैयाँ र कुमारी नेपालीले १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले पनि आर्थिक सहयोग गर्ने वचन दिनुभएको मल्लिक परिवारले जनाएको छ ।
सुन्दरहरैंचा ९ बुधबारे बजारभन्दा केही परको जग्गामा नयाँ घर बनाउन लागेको मञ्जुको भनाइ छ ।