काठमाडौंः सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो । सो सम्मेलनका लागि अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन भएको छ ।
सो समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र शहरी विकास मन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् । स्वदेशी, गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।
निर्देशक समितिको बैठकले मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समितिलाई कार्ययोजना, कार्यक्रमको ढाँचा, आवश्यक विज्ञ नियुक्ति गर्ने, उपसमिति बनाउनेलगायतका विषयमा प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएको छ ।