गोठगाउँः नेपाल तेक्वान्दो संघ सुन्दरहरैंचाको आयोजनामा मोरङ जिल्लास्तरीय अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जेठ १५ गते हुने प्रतियोगितामा मोरङका प्रत्येक डोजाङबाट ९ खेलाडी र १ प्रशिक्षक गरी १० जनाले सहभागिता जनाउने भएका हुन् । प्रतियोगिता सुन्दरहरैंचा वडा नम्बर ७ मा रहेको पञ्चायत माविको खेलमैदानमा हुने भएको छ ।
संघको सुन्दरहरैंचा शाखाका अध्यक्ष कपिलराज दाहालका अनुसार जिल्लामा २४ वटा डोजाङ रहेका छन् । ती डोजाङका खेलाडीले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गर्ने दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार महिलातर्फ ८ समूहमा र पुरुषतर्फ ९ समूहमा प्रतिष्पर्धा हुनेछ । १६ वटा डोजाङले प्रतियोगितामा भाग लिन नाम दर्ता गराइसकेको र १४ गते बेलुकासम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
आयोजक समितिका सचिव मिलन लुइँटेलका अनुसार पुम्सेतर्फ १ जना महिला र १ जना पुरुष खेलाडी सहभागी हुन पाउनेछन् । प्रतियोगिताका लागि १४ जना रेफ्री र २ जना जुरी जेठ १४ गते नै कार्यक्रमस्थलमा आइपुग्ने लुइँटेलले बताउनुभयो । सुन्दरहरैंचा नगरपालिकाको नगर खेलकुद विकास समिति प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको छ ।
प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार ऋद्धिसिद्धि सिमेण्ट, सरस्वती आर्टस्, लायन्स क्लब अफ गछिया, मोरङ ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका साथै विभिन्न संघसंस्थाले प्रतियोगितामा प्रायोजन गर्ने भएका छन् । त्यस्तै विभिन्न व्यक्तिबाट सहयोग रकम उठाएर प्रतियोगिता गर्न लागिएको बताइएको छ ।
जेठ १५ गते बिहान ६ बजेदेखि तौल लिन शुरु गरिने भएको छ । बिहान ७ बजेदेखि औपचारिक कार्यक्रम शुरु गरी सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले कार्यक्रमको उद्घाटन गरेपछि बिहान ८ बजे प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ ।
आयोजक संस्थाका सचिव लुइँटेलका अनुसार प्रतियोगितामा ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुका साथै पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हात पार्ने टिमलाई ट्रफी प्रदान गरिने छ । बेस्ट फाइटर १ जना महिला र १ जना पुरुषले नगद पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पञ्चायत माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले खेलाडीको लागि जाँगर र उत्साह भर्न यस्ता प्रतियोगिता सहायक हुने बताउनुभयो ।
भिडियोका लागि तलको लिंक थिच्नुहोस् ।
https://youtu.be/NmudkzfemsA?si=8I05LniEste8nf4N