Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

आज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

गोठगाउँः शान्तिका दूत गौतम बुद्धको २५६८ औँ जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी आज मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिनको सम्झनामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा नेपालको लुम्बिनीमा भएको थियो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।

३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेपछि सारनाथमा पहिलोपटक ५ जना शिष्यलाई प्रवचन दिनुभएको थियो ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश दिएका थिए। आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एशियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली निकालिन्छ।

यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ। प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments