गोठगाउँः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोरङको सुन्दरहरैंचामा निर्माण हुने २ वटा अत्याधुनिक कालोपत्रे सडकको शिलान्यास बिहीबार गर्नुभएको छ ।
विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत बन्ने २ वटा सडकको शिलान्यासका लागि सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा ती सडकको शिलान्यास भएको हो । सडक निर्माणका लागि नगरपालिकाले ठेक्का आह्वान गरी सम्झौता गरेपछि शिलान्यास गरिएको नगरपालिकाले जनाएको छ ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले तोकिएको समयमै गुणस्तरीय सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले वर्तमान राजनीतिक विषयमा कुनै टिप्पणी गर्नुभएन ।
कार्यक्रममा समापन मन्तव्य राख्दै सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले नगरको विकासका लागि प्रदेश र संघीय सरकारसमक्ष विभिन्न योजनाहरु पेश गरेर नगरको विकासमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
सडक शिलान्यास कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघीय सांसद ऋषिकेश पोखरेल, कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदी, जीवन आचार्य, एमाले नेता गुरु बराल, नेपाली कांग्रेसका पूर्व प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलालगायतको अतिथ्यता रहेको थियो । शिलान्यास कार्यक्रममा सहभागी हुन स्थानीवासी ठूलो संख्यामा भेला भएका थिए । ओलीलाई पञ्चेबाजा बजाएर कार्यक्रममा स्वागत गरिएको थियो ।