विराटनगर: दुई दिनकाे समय दिएर कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गका छन् ।
वर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
२६ चैतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र माओवादीले आफूहरुले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले २५ वैशाखसम्म प्रदेशसभामा विश्वासको मत लिनुपर्ने मत राख्दै आएका थिए । र प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए २५ वैशाखपछि पदमुक्त हुने व्यहोराको संकल्प प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त संकल्प प्रस्ताव प्रदेशसभाले पारित पनि गरेको थियो ।
प्रदेश प्रमुख खापुङले यस विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय पनि माग गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले राय पठाएपछि नयाँ सरकार गठन आह्वान बुधबार राति ११ बजे गरिएको हो ।