भरतपुरः अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधिका लागि सुदूरपश्चिम र कोशी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएको दोस्रो सेमीफाइनल खेलमा कर्णाली प्रदेशलाई पेनाल्टी शुटआउटमा ३–२ गोल अन्तरले हराउँदै सुदूर पश्चिमले कोशीसँग उपाधि भीडन्त पक्का गरेको हो ।
हिजो कर्णाली प्रदेश र सुदूर पश्चिमबीचको दोस्रो सेमीफाइनल पहिलो हाफ खेलेर हावापानीका कारण स्थगित भएको थियो । पहिलो हाफमा सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूर पश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएकी थिइन् ।
आज दोस्रो हाफका लागि भएको खेलमा कर्णाली प्रदेशका लागि खेलको ६७ औँ मिनेटमा हिमा रावलले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । त्यसपछि दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरमार्फत् भएको थियो ।
फाइनल खेल शनिबार सुदूरपश्चिम र कोशी प्रदेशबीच हुनेछ । खेल भरतपुर–१९ को बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भइरहेको छ ।